बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

प्रदेशमा यस बर्ष लगानी सम्मेलनको आयोजना गरिने : मुख्यमन्त्री कार्की

मनोज दाहाल / रासस 13788  पटक हेरिएको

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ।

प्रदेश सरकार स्थापना भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्की नीजि क्षेत्रले सुनसरीको अमडुवामा(बर्जु गाउँपालिका) उद्योग स्थापना गर्ने प्रण गरेमा सो स्थानमा रहेको ६५० विघा जग्गा ल्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । उहाँले प्रदेश सरकारले नीजि क्षेत्रको सहयोगमा पर्यटकीय स्थलहरुलाई दुई ठूला छिमेकी मुलुकमा ब्राण्डिङ्ग गरी पर्यटक आगमन वृद्धि गर्न कार्यको शुरुवात गर्र्ने विचार राख्नु भयो ।

उहाँले नीजि क्षेत्रको सहकार्यमा नागरिकको जीवनस्तर उठाउन ल्याउने ठूला परियोजनाका लागि आवश्यक साथ र सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहाँले भन्नु भयो,‘प्रदेश सरकारले निर्माण गरेको संरचना हाम्रो हो भन्ने अनुभूति जनतालाई गराउन आवश्यक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु भयो ’ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिको व्यवसायिकरण, आधुनिकरण र लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले सरकारसँग समन्वय गरी जनताको समृद्धि कायम गर्न अगाडि वढ्ने बताउनु भयो ।

अन्तरक्रियामा नेपाल उद्योग परिसंघका भीम घिमिरे लगायत उद्योग एवं व्यापार क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : ०७:४९:२६ , २ महिना अगाडि

error: Content is protected !!